कतारमा श्रीमानको मृत्यु : श्रीमती भन्छिन्, श्रीमानले छोडेर गएपनि हिम्मत नहारी दुई छोराको भविष्य बनाउँछु :: Read News >>

Loading...

हेर्नुहोस भिडियो

मंसिर १८ – लमजुङको गौँडा–८ डाँडाथोकका डम्बरबहादुर गुरुङ परिवारको सुन्दर सपनाको खोजीमा कतार पुग्नुभयो । ६ वर्षसम्म उहाँले कतारमा रगत पसिना बगाउनुभयो । परदेशको कमाईले उहाँले फागुनमा सुन्दरबजार–४ पैह्रेस्थित ब्लक लगाएको चार कोठाको सानो चिटिक्क परेको घर पनि बनाउनुभयो । घरमा श्रीमती र दुई छोरा बस्दै आएका थिए । विगतमा घरव्यवहार चलाउन मुस्किल पर्ने गुरुङ परिवारलाई वैदेशिक रोजगारीले भने दुई छाक टार्न सजिलो बनाएको थियो । दुःखजेलो गरेर भएपनि दुई छोरालाई पढाई÷लेखाई ठूलो मान्छे बनाउने डम्बर र श्रीमती हरिमाया गुरुङको सोँच थियो । सपना थियो । तर अफ्सोच दसैँको नवमीको दिन परदेशमै श्रीमानको निधन भएको खबरले हरिमाया मुर्छित पर्नुभयो । दसैँ उहाँको लागि दशा झैँ भयो । सर्वस्व लुटिए झैँ भयो । जीवन जीउने आधार टुटेझैँ भयो । धन कमाउन परदेश भासिएका श्रीमानको निधनले हरिमायालाई पीरमाथि पीर थपियो । कतारमा बितेका श्रीमानको शव नेपाल पनि झिकाइयो र सनाखत पनि गरियो । तर श्रीमानको यादले भने उहाँको आँखा अझै ओभाएका छैनन् । श्रीमानको परदेशको कमाईले बनाएको घरमा सँगै बस्न पाउने उहाँको सपना सदाका लागि टुट्यो । आँसु पुछ्ने हिम्मत गर्दै हरिमाया आफ्ना दुईछोराको भविष्य उज्वल बनाउने सपना बुन्दै हुनुहुन्छ । तर कमाउने श्रीमान नै बितेपछि उहाँलाई दुई छोरा राजन र जेसनलाई कसरी हुर्काउने, पढाउने भन्ने चिन्ता थपिएको छ । उहाँको सपनालाई साकार पार्नका लागि कतारमा रोजगारीमा रहेकाहरु लमजुङेहरुको लमजुङ सेवा समाज र पूर्वी लमजुङ तमु युवा समाज कतारले सहयोग गरेको छ । समाजले राजन, जेसनको पढाईको लागि भन्दै हरिमायाको घरमै पुगी ३ लाख ९ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । आमा हरिमाया र दुई छोराको नाममा बैंकमा खाता खोलिएको छ । साथमा परिवारलाई नगद २५ हजार ६ सय १० प्रदान गरिएको छ । यसअघि पूर्वी लमजुङ तमु युवा समाज कतारले परिवारलाई ५८ हजार प्रदान गरिसकेको छ । छोराहरुको पढाइमा सहयोग गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । निकै भावुक देखिनुभएकी हरिमायाले सहयोगीहरु आफ्नो लागि भगवान सरह रहेको बताउनुभयो । ‘श्रीमानले सधैँका लागि छोडेर गएपनि हिम्मत नहारी दुई छोराको मुख हेरी बाँच्छु । यिनीहरुलाई लेखाउँछु/पढाउँछु, ठूलो मान्छे बनाउँछु’ सेतो पछ्यौरीले आँसु पुछ्दै उहाँले भन्नुभयो । जेठो छोरा राजन भुतपूर्व सैनिक बोर्डिङ स्कुलमा कक्षा ८ मा पढ्दै आएका छन् । कान्छा छोरा जेसन भने ५ कक्षामा पढ्छन् । आमाको आँसु पुछ्छौँ पढेर ठूलो मान्छे भई आमाको आँखाको आँसु पुछ्ने वचन नाबालक छोराहरुले दिएका छन् । डम्बर गुरुङको मृत्युले आफूहरुलाई निकै दुःख लागेको स्मरण गर्दै उहाँको दुई छोराको पढाइ खर्चका लागि कतारमा रहेका लमजुङेहरुबाट थोरैथोरै रकम संकलन गरी परिवारलाई हस्तान्तरण गरिएको लमजुङ सेवा समाज कतारका सदस्य रामचन्द्र अधिकारीले बताउनुभयो । दुःखमा परेकाहरुलाई सहयोग गर्नु नै आफूहरुको उदेश्य रहेको लमजुङ सेवा समाज कतारका प्रथम उपाध्यक्ष खुसीराम गुरुङले बताउनुभयो । परदेशमा ज्यान गुमाएका डम्बरका परिवारलाई आर्थिक सहयोग गरेकोमा स्थानीय क्याप्टेन खरजंग गुरुङले पनि खुसी व्यक्त गर्नुभयो । source http://ujyaaloonline.com/
Share this video :

Post a Comment